आत्मज्ञान
आफूलाई चिन्ने समय हामीसँग कहिल्यै हुँदैन
हामीलाई थाहा छ हाम्रो नाम के हो, हामी कहाँ बस्छौं र के काम गर्छौं। तर के हामीलाई थाहा छ, हामी को हौं?

यदि कसैले तपाईंलाई आफूलाई चिन्नुहुन्छ कि भनेर सोध्यो भने, धेरै सम्भावना छ कि तपाईं चिन्छु भनेर जवाफ दिनुहुनेछ। तपाईंलाई आफ्नो नाम के हो, कहाँ बस्नुहुन्छ, कहाँ काम गर्नुहुन्छ थाहा छ; तपाईंलाई आफ्नो परिचयपत्रको नम्बरसमेत कण्ठ छ। “पक्कै, म को हुँ भन्ने मलाई थाहा छ”, हामी भन्छौं। र तैपनि, हामीले चिनेको कुरा हाम्रो व्यक्तित्वको बाहिरी भाग मात्र हो।
हामीसँग आफ्नो आन्तरिक संसारलाई चिन्ने समय कहिल्यै हुँदैन। हामी यसलाई पर्याप्त महत्त्व दिँदैनौं। तथापि, यो काम सचेत रूपमा गर्नु आवश्यक छ।
र यो समयको कमी मात्र होइन। हामी बाहिरी संसारमा भन्दा आफ्नो आन्तरिक संसारमा धेरै बढी समय बिताउँछौं —विचार, इच्छा, भावना, कुराकानी र कल्पनाहरूका बीच— र तैपनि, हामी त्यसलाई चिन्दैनौं।
आफूलाई चिन्नु भनेको आफ्नैबारे जानकारी थुपार्नु होइन। पाठ्यक्रमको पहिलो व्याख्यानले यसलाई यसरी परिभाषित गर्छ:
आफूलाई चिन्नु भनेको आफ्नै दिव्य सत्तासँग एकत्व प्राप्त गरिसकेको हुनु, आफूलाई आफ्नै आत्मासँग अभिन्न जान्नु, ज्ञेय र ज्ञाताबीचको तादात्म्यलाई प्रत्यक्ष अनुभव गर्नु हो। यही हो जसलाई हामी आत्मज्ञान भनेर परिभाषित गर्न सक्छौं र गर्नुपर्छ।
त्यसैले मूल कुरा साँच्चै आफूलाई चिन्न पुग्नु हो: हामी कहाँबाट आयौं, कहाँ जाँदैछौं र अस्तित्वको कारण के हो भनेर जान्नु।
कहाँबाट सुरु गर्ने? आत्मनिरीक्षणबाट: जीवनका सबै पक्षमा, स्वेच्छाले र सचेत रूपमा, आफूलाई जस्तो छौं त्यस्तै देख्नु। जब कसैले आफैँलाई देख्ने मनसायले आफ्नो निरीक्षण गर्न थाल्छ, त्यो उसले आफूलाई पत्ता लगाउन र भित्रबाट बाहिरतर्फ बदलिन चाहन्छ भन्ने सङ्केत हो।
मार्गको सुरुवात यही हो: बाहिरतिर हेर्न छोड्नु र ‘आफू’ भनिने आन्तरिक ब्रह्माण्डतर्फ दृष्टि फर्काउनु।
यो लेख चरण ‘क’ को व्याख्यान ०१ बाट लिइएको हो: सार्वभौमिक ज्ञान QS र उद्देश्यहरू।



